गत आर्थिक वर्षमा राजश्वको संकलन लक्ष्यको ६८ प्रतिशत मात्रै

बकैया दर्पण संवाददाता
१ श्रावण २०८०, सोमबार ११:१९

मकवानपुर । महालेखाका नियन्त्रक कार्यलयले गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ६८ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको जनाएको छ ।

गत आर्थिक वर्षमा १४ खर्ब राजश्व संकलनको लक्ष्य राखेकोमा असार मसान्त अर्थात आइतबार रातीसम्ममा ९ खर्ब ५७ अर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको हो ।

झण्डै १३ खर्बको कर राजश्व उठाउने लक्ष्य राखेकोमा ८ खर्ब ६५ अर्ब मात्रै संकलन भएको छ । यो भनेको लक्ष्यको ६६ दशलव ८२ प्रतिशत हो । त्यसैगरी गैर राजश्व वापत १ खर्ब ७७ अर्ब उठाउने लक्ष राखेकोमा ७६ अर्ब ३८ करोड उठेको छ ।

अनुदानतर्फ सरकारले ५५ अर्ब ४५ करोड प्राप्त गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ३८ प्रतिशत अर्थात २१ अर्ब २९ करोड मात्रै प्राप्त गरेको छ । राजश्य संकलन लक्ष्यको १० प्रतिशतसम्म तलमाथि हुनुलाई औसत मान्ने गरिन्छ । तर गत वर्ष सरकारको लक्ष्य भन्दा ३२ प्रतिशत कम राजश्व संकलन भएको हो ।

गत आर्थिक वर्षमा पूंजीगत खर्च वापत ३ खर्ब ८० अर्ब छुट्याइएकोमा लक्ष्यको ६१ प्रतिशत मात्रै खर्च हुन सकेको छ । चालू खर्चको शीर्षकमा भने ८५ प्रतिशत बढी खर्च भएको छ । नियमित तलबभत्ता, प्रशासकीय खर्च, सामाजिक सुरक्षाभत्ता, प्रदेश लगायत स्थानीय तहहरूलाई अनुदानका रूपमा ११ खर्ब ८३ अर्ब छुट्याइएको १० खर्ब माथि खर्च भएको महालेखाले उल्लेख गरेको छ ।

यस्तै, वित्तिय अनुदानतर्फको खर्च पनि ८२ प्रतिशत माथि देखिएको छ । आम्दानी र खर्चको असन्तुलनको खाडल झन् झन् बढ्दै गएको र राजश्व तलब भत्तामा मात्रै सीमित हुन थालेको दृष्टान्त देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*