राष्ट्रिय सभाको बैठक एमालेको अवरोधपछि आइतबारसम्मका लागि स्थगित

बकैया दर्पण संवाददाता
२२ असार २०८०, शुक्रबार १४:०८

मकवानपुर । शुक्रबार पनि बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।

बैठकको सुरुमै बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनु परेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उहाँलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेकोे जिकीर समेत गर्नुभयो । देशकै सम्माननित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको सांसद घिमिरेको दावी थियो ।

एमाले सांसदहरुले उठेर अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटकपटक आग्रह गर्नु भएको थियो । तर आफ्नो अडानबाट एमाले सांसदहरु पछि नहटेसम्म अध्यक्ष तिमिल्सिनाले असार २४ गते आइतबारसम्मका लागि सो बैठक स्थगित गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*