भोलि गाउँपालिका महासंघ र नगरपालिका संघले सिंहदरबार घेर्ने

बकैया दर्पण संवाददाता
२१ असार २०८०, बिहीबार ११:१३

मकवानपुर । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघ आन्दोलित भएका छन्। ​समानीकरण अनुदानको चौथो किस्ताको ५० प्रतिशत रकम कटौती गर्ने सरकारको निर्णयविरुद्ध महासंघ र संघ आन्दोलनमा उत्रिएका हुन्।

महासंघका केन्द्रीय महासचिव खिमबहादुर थापाका अनुसार निर्णय फिर्ता लिन बिहीबारसम्मको ‘अल्टिमेटम’ दिइएको छ। मागप्रति सरकारले वेवास्ता गरे शुक्रबार सिंहदरबार घेर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए।

गत वैशाख १२ गते सरकारले प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने वित्तीय समाननीकरण अनुदानमध्य अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको थियो।

विकास निर्माणका काम भइरहेको अवस्थामा अन्तिम समयमा आएर रकम कटौती गर्दा टोल विकास निर्माणमा प्रभाव परेको र स्थानीय सरकारको संवैधानिक अधिकार समेत खोसिएको उनले बताए। ​पटकपटक प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुख्य राजनीतिक दलका नेता र राष्ट्रिय समन्वय परिषद्को बैठकमा समेत विषयवस्तु राख्दा सरकार गम्भीर नभएको आरोप महासचिव थापाले लगाए।

आर्थिक वर्षको अन्त्यमा स्थानीय सरकारको बजेट प्रणालीमा नै गम्भीर असर पर्नेगरी समानीकरण अनुदानमा गरिको कटौतीले आन्तरिक आय कम भएका स्थानीय सरकारलाई गम्भीर असर परिरहेको छ। अन्तिम समयमा आएर कटौती गर्ने निर्णय वित्तीय संघीयता, संविधानको मर्म र व्यवस्था विपरीत रहेको उनले दाबी गरे।

‘खर्च गर्ने समय सीमा यही असार २३ गतेसम्म मात्र भएको हुँदा निकासा फुकुवा हुन बाँकी रकम तत्काल फुकुवा गर्न माग गरिरहेका छौँ’, उनले भने। ​स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्षसमेत रहेका महासचिव थापाले सबै पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख शुक्रबार बिहान काठमाडौंमा भेला हुने जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*