नेकपा एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरोध, प्रधानमन्त्री दाहालको राजीनामा माग

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १५:२८

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै राष्ट्रिय सभा बैठक अबरुद्ध गरेको छ ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गर्नु भएको हो । उहाँले आफूहरुको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राख्नु भयो । नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने पटकपटक दोहोर्‍याउनु भयो ।

नेता दाहालले प्रधानमन्त्री दाहाल स्वयम्ले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताउनु भयो । एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभा बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।

प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताउनुभएको थियो । यसै बिषयलाई लिएर एमालेले विरोध गरेको हो ।

उता प्रधानमन्त्री दाहालले पुस्तक बिमोचनको कुरालाई लिएर एमालेले बबण्डर मच्चाउन खोजेको बताउनु भएको छ । बुधबार काठमाडौमा आयोजित पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको प्रशिक्षणमा यस्तो बताउनुभएको हो ।एमालेको अवरोध पछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*