आफुलाई सरकारमा जान नदिन निरन्तर प्रयास भईरहेको अध्यक्ष ओलीको दावी

बकैया दर्पण संवाददाता
१९ असार २०८०, मंगलवार १०:१७

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेवापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भईरहेको टिप्पणी गर्नु भएको छ ।

‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको अध्यक्ष ओलीको भनाई छ ।

सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उहाँले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आफू सरकारमा नभएपनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गर्नुभयो । उहाँले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबै भन्दा ठूलो प्राप्ती हुने गरेको बताउनुभयो । उहाँले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दूर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भएपनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको बताउनुभयो ।

अध्यक्ष ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताउनुभयो । त्यस अवसरमा उहाँले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*