कोशी प्रदेशको विषय पनि टुंग्याउने गरी सत्ता गठबन्धनको बैठक बस्दै

बकैया दर्पण संवाददाता
१८ असार २०८०, सोमबार १५:०८

मकवानपुर ।  सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक दिउँसो चार बजेका लागि बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषयहरू  जनमत पार्टीलाई सरकारमा ल्याउने तथा कोशी प्रदेशमा नयाँ सरकार निर्माणको विषय र बजेटबारेका असन्तुष्टिलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने बताइएको छ।

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आइतबार प्रधानमन्त्रीसँग भेटेर आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चाहेको जानकारी दिएका थिए । त्यसको प्रतिउत्तरमा प्रचण्डले गठबन्धन दलसँग सहमति गरेर जनमत पार्टीलाई सरकारमा ल्याउने आश्वासन दिएका थिए ।

बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने सचिवालयको भनाइ छ। कोशी प्रदेशका मुख्‍यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएर सरकार ढलेसँगै त्याहाँ नयाँ सरकार गठनका लागि आव्हान भइसकेको छ ।

तर, ९३ सदस्य रहेको कोशी प्रदेशमा बहुमत पुर्‍याउन ४७  सिट कुनै गठबन्धनको पनि पुग्ने अवस्था छैन । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।

एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सिट छ ।

पछिल्लो समय राप्रपालाई मुख्‍यमन्त्री दिने गरी एमालेसँगको गठबन्धन तोडाएर पनि नयाँ सरकार बनाउनेसम्मका हल्लाहरूबारे बाहिर चर्चा हुन थालेका छन्। यद्यपि कुनै पनि दलहरूले आधिकारिक निर्णय भने गरिसकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*