आजदेखि प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०८०, आईतवार ०९:०८

मकवानपुर ।  प्रतिनिधि सभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ । छलफलका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति शुक्रवार संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रममाथि यही ११ गतेसम्म छलफल हुनेछ ।

छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ ।  यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीले गएको बिहीवार नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएकोमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका कारण स्थगित गरिएको थियो । एमालेले सरकारले संसदमा प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशलाई निर्देश गर्ने खालको नभएको भन्दै पारित हुन नदिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*