आरजु राणा र मञ्जु खाणको संलग्नताबारे अनुसन्धान गर्दै प्रहरी

८१ जना विरुद्ध किटानी जाहेरी
बकैया दर्पण संवाददाता
२७ बैशाख २०८०, बुधबार १४:४१

मकवानपुर । नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पूर्व गृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाणको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणको समेत नाम जोडिएको एक अडियो सार्वजनिक भएको थियो । सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ।

स्रोतका अनुसार अडियो नजिकबाट अनुसन्धान हुनुका साथै उक्त अडियोमा नाम लिइएका दुई सांसदको संलग्नताबारे प्रमाण जुटाउने प्रयास भइरहेको छ । उनीहरूको संलग्नता देखिए तत्काल कारबाही हुने स्रोतले बताएको छ। साथै यस प्रकरणमा नाम जोडिएका अन्य हाइप्रोफाइलसँगै सम्पूर्ण व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । यस प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले हाइ प्रोफाइल व्यक्तिमाथिको अनुसन्धान जारी छ ।

बालकृष्ण खाण बुधबार बिहान पक्राउ परिसकेका छन् । उनी बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका हुन् । खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई अदालतमा उपस्थित गरेर हिरासतमा राख्न अनुमति लिने तयारी भइरहेको छ ।

यही कसूरमा केशव दुलाल,सानु भण्डारी,सन्देश शर्मा,सागर थुलुङ राई,सन्दीप रायमाझी, टंक गुरुङ, सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका पक्राउ परिसकेका छन् ।

यसमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज राई भने अहिलेसम्म फरार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*