नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आठ जनासँग प्रारम्भिक बयान सकियो

बकैया दर्पण संवाददाता
२४ बैशाख २०८०, आईतवार ०९:५९

मकवानपुर नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकासँगको प्रारम्भिक बयान सकिएको छ ।

प्रहरीसँगको बयानका क्रममा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपले आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । सचिव पाण्डे, थापाका सुरक्षा सल्लाहकार राई तथा रायमाझीका छोरा सन्दीपसहित ठगी धन्दामा संलग्न रहेको आरोपमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा प्रहरीले गएको मंगलवार तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरेको हो ।

ठगीको घटनामा जोडिएका पूर्वमन्त्री रायमाझी, राईका छोरा निरज र तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक फरार छन् । नक्कली भुटानी शरणार्थी बनाएर झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आंकलन छ ।

भुटानी समस्याको समाधान गर्न भन्दै तत्कालीन गृहमन्त्री थापाले २०७६ सालमा पूर्व सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गर्नुभएको थियो । कार्यदलको प्रतिवेदनलाई आधार बनाइ ठगी गरिएको थियो । ठगी र संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट थप प्रमाणहरू खोज्ने र त्यसक्रममा अरू थप व्यक्तिहरूको संलग्नता रहेरनरहेको खुल्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक ९डिआइजी० कुबेर कडायतले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*