मन्त्रालयकाे बजेट घट्ने भएपछि मन्त्रीकाे गुनासाे

बकैया दर्पण संवाददाता
१७ बैशाख २०८०, आईतवार १९:५९

मकवानपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदाे आर्थिक वर्ष २०८०/०८१ मा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताउनुभएको छ ।

आइतवार काठमाण्डाैमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले आउँदाे आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब रुपैयाँ कटौती भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा एक सय ६३ अर्ब बजेट रहेको भए पनि आउँदाे आर्थिक वर्षका लागि एक सय १३ अर्ब रुपैयाँ बजेटको सिलिङ दिइएको बताउनुभयो ।

मन्त्री ज्वालाले आउँदाे आर्थिक वर्षको बजेट गरिबका लागि खानेकुराजस्तो बनेको बताउनुभयो । उहाँले राजस्व सङ्कलन कम भइरहेको र अर्थतन्त्रका सूचकाङ्कहरू पनि खराब रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी बजेट निर्माणको चटारोमा छाैँ । बजेट पनि कटाैती भएकाे छ । यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन । गरिबीजस्तो भएको छ । बिहान खाँदा साँझ नपुग्ने, साँझ खाँदा बिहान नपुग्नेजस्तो भएको छ । बजेट मारमा पर्नु भनेको हाम्रा याेजना, कार्यक्रम मारमा पर्नु हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे बजेट यस पटक सबैभन्दा धेरै कटौती गरिएको छ । एक सय ६७ अर्बकाे बजेट आउँदाे आर्थिक वर्षमा एक सय १३ अर्ब रुपैयाँमात्रै सिलिङ दिइएको छ ।’

मन्त्री ज्वालाले बजेट कटाैतीका कारण मन्त्रालयले आउँदाे आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*