आज प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै

बकैया दर्पण संवाददाता
१० बैशाख २०८०, आईतवार ०७:०७

मकवानपुर । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आज (आइतबार) उपनिर्वाचन हुँदैछ । तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुन लागेको हो ।

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको सयम तोकिएको छ । मतदानका लागि तीन वटै क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

तीन वटा क्षेत्रका साढे तीन लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । आयोगले कुनै पनि भय, प्रलोभन वा आग्रहमा नपरी आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनासहित सशस्त्र र नेपाल प्रहरीको तीन घेराको सुरक्षा लागू गरिने निर्वाचन आयोगले जनाएको छ । आइतबार दिनभर ती निर्वाचत क्षेत्रमा अत्यावश्यक बाहेक अरु सवैखाले यातायात रोकिएको छ ।

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रचलित कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीतका यस्ता निर्णय बदर गरी प्रचलित कानुनबमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष गर्न आयोगले निर्देशन दिएको छ ।

यातायात रोकिँदा पर्यटकीय शहर पोखरा जाने र पोखराबाट मुग्लिनतर्फ आउने सवारी साधन पनि दिनभर रोकिने भएका छन् । यो निर्वाचनलाई परम्परागत पुराना राजनीतिक दल र एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबीचको शक्ति परिक्षणको रुपमा हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*