राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

बकैया दर्पण संवाददाता
६ बैशाख २०८०, बुधबार १२:३९

मकवानपुर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ ।

बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो ।

प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताउनुभयो । उहाँले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुने बताउनुभयो ।

उहाँले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो । भ्रमण टोलीमा रहनुभएका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताउनुभयो । उहाँले रुसले राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलो पटक बोलाएको बताउनुभयो ।

उहाँले आफूहरु नेपाली जनताको सद्भाव बोकेर रुस प्रस्थान गर्न लागेको भन्दै नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा संघीय संसदको सद्भावसमेत रुसमा व्यक्त गर्ने बताउनु भयो ।

राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*