प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन प्रमुख ३ दलबीच सहमति

बकैया दर्पण संवाददाता
४ बैशाख २०८०, सोमबार १२:५८

मकवानपुर । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको बताउनुभयो ।

उहाँले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको बताउनुभयो । बैठकमा अध्यक्ष ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने विषयमा सहमति जनाउनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,(‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहक हुनुहुन्छ। लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको छ। कम्फर्म प्रधानन्यायाधीश बनाउनुपर्छ भन्नेकुरा उठिरहेको छ। प्रधानमन्त्री दाहालले यसमा पहल गर्नुपर्छ भन्ने कुरामा छलफल भयो। प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई स्थायी नियुक्तिको प्रक्रिया संवैधानिक परिषद्बाट गर्ने कुरा जुन छ, त्यसमा पहल गर्नुभयो। अध्यक्ष ओलीले त्यसमा सहमति गर्नुभएको छ । चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर टुंग्याउने सहमति भएको छ ।’

बैठकमा संसदको समितिहरु सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउने कुरामा छलफल भएको प्रमुख सचेतक लेखकले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*