चैत मसान्तसम्म उठेकाे राजस्वले चालु खर्च धान्नै धाैधाै, ९ खर्ब ४३ अर्ब खर्च

बकैया दर्पण संवाददाता
२ बैशाख २०८०, शनिबार १०:१६

मकवानपुर । चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट दुई खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ नाघेको छ । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च सवा दुई दशमलव नौ प्रतिशत बिन्दुले बढी हो ।

यो अवधिसम्ममा सङ्कलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पुँजीगत खर्च निकै कम छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार नौ महिनामा सरकारले वार्षिक विनियोजनको ५२ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोमा चैत मसान्तसम्ममा नौ खर्ब ४३ अर्ब पाँच करोड १६ लाख रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।

चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । चैत मसान्तसम्ममा यो शीर्षकमा ५९ दशमलव ७३ प्रतिशत अर्थात् सात खर्ब छ अर्ब ७६ लाख ५९ हजार रुपैयाँ बराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकमा यस वर्ष तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा हालसम्म २८ दशमलव १९ प्रतिशतअर्थात् एक खर्ब सात अर्ब २४ करोड ३४ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ ।

त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा चैत मसान्तसम्म ५६ दशमलव ०५ प्रतिशत अर्थात् एक खर्ब १९ अर्ब चार करोड २३ लाख बराबर खर्च भएको छ । यो अवधिमा पुँजीगतभन्दा वित्तीय व्यवस्थातर्फको बजेट खर्च बढी देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*