टिआरसी विधेयक सत्ता पक्षको एकांकी विषय नभएकोमा महेश बर्तौलाको जोड

बकैया दर्पण संवाददाता
२७ चैत्र २०७९, सोमबार १४:१३

मकवानपुर। नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय नभएको बताएका छन् ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक बर्तौलाले सत्ता पक्षले फास्ट ट्र्याकबाट नै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्नुपर्ने अडान राखिरहेको भन्दै त्यसो हुन नसक्ने स्पष्ट पारे ।

उनले विषयगत समितिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लैजानैपर्ने र त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएर मात्रै विधेयक पारित गर्नुपर्ने बताए । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंगिनुपर्छ भन्नेकुरामा नेकपा एमाले पनि सहमत भएको तर राष्ट्रिय विषय भएकाले प्रक्रिया पूरा गरेर मात्रै विधेयक टुंग्याइनुपर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय मानव अधिकार पक्ष भएर हस्ताक्षर गरेका कयौँ विषयहरुसँग सम्बन्धित भएकाले त्यो प्रतिकुल देशका ऐनहरु बन्नु नहुनेतर्फ सचेत गराए । उनले विधेयकमा पीडितहरुको भावना समेट्नुपर्ने, सत्यको राम्रोसँग अन्वेषण गरेर दोषीलाई कारबाही, पीडितहरुलाई परिपूरण राहत, क्षतिपूर्ति र न्याय दिन सक्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘टिआरसीको विषयमा उहाँहरुले फास्ट ट्र्याकबाट जाने कुरा गर्नुभएको छ । प्रोसेसको कुरा गरिरहनुभएको छ । हामी प्रोसेस छिटो गर्ने कुरामा तयार छौँ । तर कन्टेन्टमा छलफल गरौँ । कतिपय हिसाबले कन्टेन्टमा नै बहस गर्नुपर्ने कुरा छ। त्यसैले यो विषय राष्ट्रिय विषय हो । सत्ता पक्षको एकाङ्की विषय होइन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*