चितवन र तनहुँमा कांग्रेसको आफ्नै उम्मेदवार, बारा–२ मा जसपालाई सघाउने

बकैया दर्पण संवाददाता
१६ चैत्र २०७९, बिहीबार १२:१०

मकवानपुर । नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् । पार्टीले उम्मेदवार बनाएपछि श्रेष्ठले आफू गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका छन् । उनले गत निर्वाचनमा चितवनका जनता झुक्किएको बताउँदै अब सचेत भएको बताएका छन् ।

यस्तै तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ खाली रहेको छ । यसैगरी चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने कांग्रेसले निर्णय गरेको छ । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*