विजेता क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँ दिने

बकैया दर्पण संवाददाता
३ चैत्र २०७९, शुक्रबार १२:४२

मकवानपुर । सरकारले विश्वकप छनोटमा पुग्न सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बिहीबार तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

नेपालले बिहीबार निर्णायक खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा स्थान बनाएको थियो । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री दाहाल स्वयं टियु क्रिकेट मैदान पुग्नु भएको थियो ।

बागमती सरकारले जनही एक लाख दिने

बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाईमा पुर्याएकोमा प्रदेश सरकारले गौरव गरेको थपलियाले बताउनुभयो । खेलाडीसङ्ग प्रदेश सरकार सदैव साथ रहने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*