राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ

बकैया दर्पण संवाददाता
२९ फाल्गुन २०७९, सोमबार १५:०७

मकवानपुर । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।

सोमबार दिउँसो राष्ट्रपतिको कार्यालयमा एक भव्‍य समारोहबीच उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष तथा अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

हाल प्रधानन्यायाधीश पद रिक्त रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश कार्कीले शपथ गराएका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

नयाँ राष्ट्रपतिको शपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवास छाड्नेछिन् । उनी आजै आफ्नो निजी निवास बूढानिलकण्ठ सर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*