आज आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रम

बकैया दर्पण संवाददाता
१८ फाल्गुन २०७९, बिहीबार ०९:१२

मकवानपुर । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनीहरुलाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । आठ दलीय गठबन्धन बनाउनुको औचित्य र राष्ट्रपतिमा पौडेललाई अघि सार्नुको कारणबारे शीर्ष नेताहरुले सांसदहरुलाई जानकारी गराउने एक नेताले बताए ।

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय पनि आठ दलीय गठबन्धनको कार्यदलले यसअघि गरेको थियो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै जनमत पार्टीबाट अब्दुल खान लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*