प्रधानमन्त्री को भागमा १६ वटा मन्त्रालय, कांग्रेससहितका दललाई भित्र्याउने तयारी

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०७९, सोमबार १९:३३

मकवानपुर । प्रमुख सत्ता साझेदार नेकपा एमालेले सोमबार सरकारबाट बाहिरिने निर्णय लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने मन्त्रालयको संख्या १६ पुगेको छ। सोमबार बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

गत पुस १० गते बनेको सात दलीय गठबन्धनको प्रमुख घटक एमाले दुई महिनामै सरकारबाट बाहिरिएको छ। यस्तोमा एमालेबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी आठजना मन्त्रीहरुले बालुवाटार पुगेर राजीनामा बुझाइसकेका छन्। एमालेका मन्त्रीहरुले राजीनामा बुझाएसँगै यसअघि ८ मन्त्रालय सम्हालेका प्रचण्डको काँधमा थप ८ मन्त्रालयसहित १६ वटा पुगेका छन्। प्रचण्डले यसअघि गत माघमा रवि लामिछानेको सांसद र मन्त्री पद गएपछि गृहमन्त्रालय पनि आफैँ राखेका छन्।

उनीसँग सोमबारसम्म वन तथा वातावरण, युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय थिए।

एमालेका सबै मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

सोमबार एमालेका आठै मन्त्रीको राजीनामा आएपछि अब उनको काँधमा अर्थ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसङ्‌ख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रक्षामन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपंक्षी विकासमन्त्रालय पनि थपिएका छन्।

एमाले बाहिरिएपछि राष्ट्रपति निर्वाचनका लागि बनाइएको आठ दलीय गठबन्धनबाट नयाँ मन्त्री नियुक्ति तयारी प्रचण्डले गरेका छन्। तर एमालेको बहिर्गमनले अल्पमतमा परेका उनले फेरि विश्वासको जाँच गरेपछि या अगाडि नै नयाँ मन्त्री थप्ने निर्णय गरिसकेका छैनन्। उता पुस २६ मा प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपति पद आफ्नो पक्षमा पार्ने अंकगणित बनाइसकेको कांग्रेस सरकारमा जान खुट्टा उचालेर बसेको छ। यदि आठ दलभित्र सहमति भएमा राष्ट्रपति निर्वाचनअगाडि नै प्रचण्डले नयाँ जिम्मेवारीसहित कांग्रेस र अन्य दललाई सरकारमा ल्याउन सक्नेछन्।

प्रधानमन्त्रीले सम्हालेका मन्त्रालय

वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
गृह मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
सहरी विकास मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
अर्थमन्त्रालय
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
परराष्ट्र मन्त्रालय
स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
रक्षा मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*