विश्वासको मत लिनेबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आठ दलको बैठक

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०७९, आईतवार १८:५५

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनको बैठक बोलाएका छन् । बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । राष्ट्रपतिको निर्वाचन सन्दर्भमा आठ दलीय गठबन्धन बनेपछि सरकारमा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर बाहिरिएको छ भने नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

२५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । प्रधानमन्त्री दाहालले त्यसअघि विश्वासको मत लिने वा त्यसपछि मात्रै लिने भन्ने विषयमा गठबन्धनमा रहेका दलहरुसँग परामर्श गर्न लागेका हुन् । खानेपानीमन्त्री एवम् जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिए ।

तत्कालको सत्ता गठबन्धनमा भएको सहमति तोडेर राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले राप्रपाले समर्थन फिर्ता लिएपछि अब ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यतामा छन् ।

एमालेले राष्ट्रपति निर्वाचनपछि मात्रै सरकार छोड्न सक्ने नेताहरुको भनाइ छ । यस्तोमा राष्ट्रपति निर्वाचन अगावै विश्वासको मत लिने या पछि लिने भन्नेमा प्रधानमन्त्री दाहाल दोधारमा छन् । गठबन्धनले राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेको छ भने एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*