राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिए

बकैया दर्पण संवाददाता
१३ फाल्गुन २०७९, शनिबार १४:५३

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धुब्रबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा दिनुभएको हो । उहाँहरूले आज दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनुभएको हो ।

आज बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राप्रपाका चार जना मन्त्रीले राजीनामा दिएका हुन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिएको बताउनुभएको छ । राप्रपाले प्रदेश सरकारमा दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

गएरातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति चुनावमा कांग्रेसलाई समर्थन गर्ने सहमति गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*