राष्ट्रपतिमा सहमति जुटाउन नेताहरूको दौडधूप जारी

बकैया दर्पण संवाददाता
१२ फाल्गुन २०७९, शुक्रबार १०:३२

मकवानपुर । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न एक दिन बाँकी रहँदा दलका नेताहरूको दौडधूप जारी रहेको छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवारी मनोनयनको तालिका रहेको भएपनि अझ सम्म पनि दलहरूले उम्मेदवार टुंगो लगाउन सकेका छैन ।

राष्ट्रपति निर्वाचनका लागि दलहरू शुक्रबार निर्णायक छलफलमा जुट्दैछन् । विभिन्न दलसँग छलफल गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सबै जसो दलसँग निर्णायक छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारी गर्नुभएको हो । राष्ट्रपति पदका लागि निर्णायक मत भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आफैं सक्रियताका साथ लाग्नुभएको छ ।

प्रचण्डले बिहीबार नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त तथा एक्लाएक्लै छलफल गर्नुभएको थियो । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन तीनै दल सकारात्मक भएका छन् । बिहीबार नै चुनावअघिको पाँच दलिय गठबन्धनसँग संयुक्त बैठक बस्ने तयारी भए पनि समय नपुगेका कारण बस्न सकेको थिएन ।

शुक्रबार पुरानो गठबन्धनका दलहरुसँग संयुक्त छलफल गर्ने तयारीमा प्रचण्ड हुनुहुन्छ । बिहीबार साँझ सिंहदरबारमा बसेको तीन दलीय बैठकपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान निर्णायक बैठक हुने बताउनुभएको थियो । प्रचण्डले शुक्रबार नै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ ।

एमालेले भने राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन शनिबार बिहान सचिवालय बैठक बोलाएको छ । त्यसअघि ओलीले शुक्रबार पार्टीका शीर्ष नेताहरूसँग अनौपचारिक छलफलको तयारी गरिरहनुभएको छ । नेपाली कांग्रेसले पनि शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर छलफल गर्ने तयारी गरेको छ । कार्य सम्पादन समितिको बैठक बिहीबार बस्ने भनिए पनि बस्न सकेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*