बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी

बकैया दर्पण संवाददाता
१२ फाल्गुन २०७९, शुक्रबार १०:३१

मकवानपुर । नेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरु सहभागी छन् ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् । यस्तै, बैठकमा माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु शुक्रबार नै साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने बताइरहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार कांग्रेससहित दलहरूसँग र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै वार्ता गर्ने तयारी गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*