वैशाख १० गते चितवन २ मा उपचुनाव

बकैया दर्पण संवाददाता
२९ माघ २०७९, आईतवार १८:२५

मकवानपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदाे वैशाख १० गते उपचुनाव हुने भएकाे छ । निर्वाचन आयोगको आज आइतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदाे वैशाख १० गते आइतवारका दिन रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपचुनाव गर्ने गरी चुनावको मिति तोक्ने निर्णय गरेको छ ।

यसअघि यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे सांसद पद खारेज भएकाे थियाे । लामिछानेकाे पद खारेज भएपछि रिक्त रहेकाे क्षेत्रमा आयाेगले उपचुनावकाे मिति ताेकेकाे हाे ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो त्यही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ । साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।

आयोगले आज स्वीकृत गरेको उपचुनावसम्बन्धी निर्वाचन कार्यक्रमअनुसार भोलि साेमवारदेखि आउँदाे चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम चैत २२ गते हुनेछ । उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुने आयाेगले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*