फागुन २ गतेदेखि अनेरास्ववियुको महाधिवेशन हुने

बकैया दर्पण संवाददाता
२९ माघ २०७९, आईतवार १५:५९

मकवानपुर । नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले आफ्नो २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशनको फागुन २ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा हुने जनाएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले अनेरास्ववियुको आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने बताउनुभयो । उहाँले सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेमा विद्युतिय मतदानबाट निर्वाचन गर्नेगरी प्रवन्ध मिलाइएको जानकारी दिनुभयो । उहाँले महाधिवेशनबाट १९९ जनाको केन्द्रिय कमिटी निर्वाचित हुने बताउनुभयो ।

त्यस्तै अनुशासन, लेखा र निर्वाचन आयोगमा अध्यक्ष, सचिव र सदस्यसहित १५ जनाको समिति निर्वाचित गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बरालले राज्य व्यवस्थालाई बलियो बनाउनका लागि स्ववियु निर्वाचन आवश्यक रहेको बताउनुभयो । विश्वविद्यालयहरुका नीतिगत निर्णयहरुमा हस्तक्षेप गर्नका लागि स्ववियु निर्वाचन चाहिने उहाँको भनाई छ । क्याम्पस प्रशासनहरुबाट विद्यार्थीहरुको भावनालाई सम्बोधन गराई निर्णय गराउनपनि स्ववियुको आवश्यकता रहेको उहाँले बताउनुभयो । अध्यक्ष बरालले आफूहरु स्ववियु निर्वाचनको पक्षमा रहेको र त्यसको तयारीमा लागेको पनि बताउनुभयो ।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा देशभरका क्याम्पसहरुबाट १ हजार पाँचसयभन्दा बढी प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*