चिकित्सकहरूको वार्तामा सहमति, हस्पिटल बन्दको आन्दोलन स्थगित

बकैया दर्पण संवाददाता
२९ माघ २०७९, आईतवार १२:२०

मकवानपुर । वार्तामा नेपाल चिकित्सक संघ र सरकारीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सक संघले आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।

सहमतिमा माघ २७ गते दिनको ४:१५ बजेको समयमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि चिकित्कसकलाई कुटेका प्रहरीलाई एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने लगायतको सहमति भएको छ ।

चिकित्सक संघ र सरकारबीच बिहान ८ बजेदेखि सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भएको थियो ।

वार्तामा चिकित्सक संघका प्रतिनिधिबीच अध्यक्ष डा लोचन कार्की महासचिव डा बद्री रिजाल, डा प्रकाश बुढाथोकी, ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ सहभागी थिए भने सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह रहेका थिए ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेपछि आज काठमाडौंका ठूला सरकारी अस्पतालको सेवा प्रभावित भइरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*