प्रचण्ड बिहानै ओलीलाई भेट्न बालकोट

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार १०:१३

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

बालकोटमा अहिले राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडान राख्दै आएको छ। प्रचण्डले भने आफ्नो रोजाइको पात्रलाई राष्ट्रपति बनाउन चाहेका छन् ।

यसैबीच बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन् । यस विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि दुई शीर्ष नेताबीच राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि रिक्त रहेको मन्त्रालयको विषयमा छलफल भएको थियो ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा उनीहरूले विभिन्न चरणमा छलफल गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*