सरकारको नागरिकता विधेयक अगाडि बढाउने तयारी

बकैया दर्पण संवाददाता
२३ माघ २०७९, सोमबार १७:४८

मकवानपुर । सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान दलका प्रमुखहरूलाई बोलाएर उक्त विधेयककाबारेमा छलफल गरेका हुन् । छलफलमा नागरिकतासहित एक दर्जन विधेयक चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको प्रधानमन्त्री प्रचण्डले बताए । नागरिकता, विकास, सुशासन, सङ्क्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, लगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लगिने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

साथै उनका अनुसार, प्रतिनिधिसभा कार्यकाल सकिएसँगै निष्क्रिय भएका २७ विधेयक पनि अगाडि बढाउने सरकारको तयारी रहेको छ । जसमा राष्ट्रिय मानवअधिकार आयोग पहिलो संशोधन विधेयक, २०७७, कर्जा सूचना विधेयक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, निकासी पैठारी नियमन विधेयक, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण विधेयक, सैनिक, सार्वजनिक खरिद, भन्सार विधेयक रहेका छन् ।

राष्ट्रियसभाबाट पारित भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, नीति अनुसन्धान प्रतिष्ठान विधेयक, नेपाल विशेष सेवा विधेयक प्रतिनिधिसभाले पारित नगरेका कारण निष्क्रिय भएका थिए । त्यस्तै, सूचना प्रविधिसम्बन्धी विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, नेपाल राष्ट्र बैंक विधेयक, धितो पत्रसम्बन्धी, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, नेपाल मिडिया काउन्सिल विधेयक पनि निष्क्रिय भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*