राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने

बकैया दर्पण संवाददाता
२३ माघ २०७९, सोमबार ०९:३९

मकवानपुर । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा फर्काउन सत्तारुढ अरु दलहरुले तयारी गरेका छन् । सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमै फर्काउने गरी अनौपचारिक छलफल भइरहेको बताएका छन् । हिजो संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ गठबन्धन जोगाउन प्रयास भइरहेको बताउनुभएको थियो । गृह मन्त्रालयको विवादले सरकार गठनको ४२ दिनमा हिजो रास्वपा सरकारबाट बाहिरिएको हो ।

सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । रास्वपा बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने र आफैँले जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको योजना छ । गएको पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका पुष्पकमल दाहाल प्रचण्डले भोलिपल्ट ११ गते उपप्रधान र गृहमन्त्रीको जिम्मेवारी दिएर रास्वपालाई सरकारमा गराउनुभएको थियो । त्यतिबेला रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई मन्त्री र एक राज्य मन्त्री थपिएका थिए । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछानेको पद नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाले खारेज भएको थियो । अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनः लिने प्रक्रिया पूरा नगरेको सर्वोच्चको ठहरपछि लामिछाने प्रक्रिया पुर्याएर फेरि नेपाली नागरिकता लिएर पार्टी सभापतिमा फर्कनुभयो । त्यसपछि रास्वपाले सरकार गठनअघि साझेदार दलहरूबीच भएको सहमतिअनुसार आफ्नै पार्टीले गृह मन्त्रालय पाउनुपर्ने अडान राख्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*