माओवादीकी उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिँदै

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १२:१०

मकवानपुर । राष्ट्रिय सभा उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । ‘हिजोको स्थायी कमिटी बैठकबाट मलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय भएको अध्यक्ष तथा प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । मलाई उम्मेदवारी मनोनयन दर्ता गर्न भन्नुभएको छ,’ उनले भनिन् ।

राष्ट्रिय सभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सिना छन् । गठबन्धनबाट माओवादीको अर्यालले उम्मेदवारी दिन लागेकी हुन् । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष फरक-फरक पार्टीबाट हुनुपर्ने कानुनी व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल एमाले हो । उसका १६ जना सांसद छन् । राष्ट्रिय सभाको दोस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना सांसद छन् भने तेस्रो दल कांग्रेसका १० सांसद छन् । राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी सांसद अर्याललाई पार्टीको समर्थनमा उम्मेदवार बनाउन लागिएको एमाले राष्ट्रिय सभा दलको नेता देवेन्द्र दाहालले जानकारी दिए ।

संघीय संसद सचिवालयले जारी गरेको राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन तालिका अनुसार आजै ४:१५ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन भने सोमबार १२ बजे बस्ने बैठकमा हुनेछ । राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने भएको छ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको कार्यकाल सकिएपछि करिब एक वर्षदेखि उक्त पद रिक्त थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*