मलेसियाका नागरिक सरह नेपाली कामदारलाई सेवा सुविधा दिने कुरामा छलफल

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार १४:५६

मकवानपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइले भेटवार्ता गर्नुभएको छ । शुक्रवार काठमाण्डाैमा एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप बलियाे बनाउनेबारेमा छलफल भएको हो ।

बैठकपछि बोल्दै श्रम मन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली कामदारलाई पनि मलेसियाका नागरिकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताउनुभयो । उहाँले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा सीप सिकाएर पठाउने कुरामा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलेसियासँग श्रम सम्झौतामा नवीकरण गर्ने बेला भएको छ । नेपाली कामदारलाई मलेसियाका कामदार सरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ ।’

त्यस्तै मलेसियाका गृह मन्त्री सैफुदिन नासुसनले नेपालबाट दुई लाख ८५ हजार सात सय ६८ जना श्रमिक मलेसिया गएका र ती मध्येबाट एक लाख ८५ हजार जना निर्माण क्षेत्रमा आबद्ध रहेको बताउनुभयो । त्यस्तै ७० हजार जना सेक्युरिटी गार्डमा कार्यरत रहेको उहाँको भनाइ छ । उहाँले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकूलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको बताउनुभयो । उहाँले कामदारका लागि ज्यालामा पनि वृद्धि गर्ने गरी नीति बनाएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*