आज शहिद दिवस: विविध कार्यक्रम गरी मनाइँदै

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालद्वारा शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
बकैया दर्पण संवाददाता
१६ माघ २०७९, सोमबार १०:०९

मकवानपुर । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा आज (साेमबार) विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहिद दिवस मनाउने चलन रहेकाे हाे । जहानियाँ राणा शासन विरुद्ध विद्रोह गर्ने ४ जना शहिदले शाहदत प्राप्त गरेको समय माघ १० देखि १६ गतेसम्म शहिद सप्ताह मनाउने गरिएको हो ।

शुक्रराज शास्त्रीलाई वि.स. १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो । यिनै महान सपुतहरुको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाउने गरिएको हो ।

त्यसपछि विभिन्न कालखण्डमा भएका आन्दोलन तथा सशस्त्र द्वन्द्वमा मारिएकाहरुलाई पनि शहिद घोषणा गरिएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालद्वारा शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शहिद दिवसको अवसरमा साेमबार सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रपति भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हाे ।

त्यस्तै, प्रधानमन्त्री दाहालले पनि शहिदहरुका सपना साकार पार्न सबैले हातेमालो गर्नु जरुरी रहेको बताउनुभएको छ । शहिदहरुले देखाएको बाटोमा शब्दमा मात्रै नभई कर्मबाट समेत पूरा गर्नुपर्नेमा उहाँको जोड छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*