रास्वपाले आज सरकारमा रहने वा नरहने बारे निर्णय लिने

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार १०:२९

मकवानपुर । पूर्व अध्यक्ष रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलासँगै सरकारमा रहने वा नरहने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझसम्ममा निर्णय गर्ने भएको छ । संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेको र बेलुकासम्ममा निर्णयमा पुग्ने तयारी भइरहेको कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले बताउनुभयो ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनः नलिएको भन्दै सर्वोच्च अदालतले पार्टी अध्यक्ष, सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद खारेज भएको अस्ति निर्णय सुनाएको थियो । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएमा लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी रास्वपाको छ । यस बारेमा पनि कानुन व्यवसायीसँग छलफल भइरहेको कार्यवाहक अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

स्रोतका अनुसार लामिछानेले आज नेपाली नागरिकता लिने तयारी गर्नु भएको छ । रवि लामिछानेले राजिनामा दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले राजीनामा दिएका कारण प्रधानमन्त्री दाहालले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको जानकारी दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*