अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

बकैया दर्पण संवाददाता
१३ माघ २०७९, शुक्रबार ११:३९

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको पुत्ला दहन गरेको छ ।

अनेरास्ववियूले शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालकाे काठमाडौंकाे प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पुत्ला दहन गरेकाे हाे । अनेरास्ववियूले मन्त्री खनालले निजीलाई पोसेको, गरीब विद्यार्थीको खिलाफमा रहेको आरोप समेत लगाएकाे छ ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियुको आरोप छ । जनक शिक्षा सामाग्री केन्द्र मास्नेका विरुद्ध एकजुट भएर लड्नुपर्ने अनेरास्ववियुको तर्क छ । अनेरास्ववियूले मन्त्री खनालकाे राजीनामा समेत मागेकाे छ । अनेरास्ववियूले मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाएकाे छ ।

अनेरास्ववियूले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएकाे छ । शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्य पुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गर्नुभएको थियो । सोही निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले विरोध जनाएका छन् ।

शिक्षामन्त्रीको पुत्ला दहनपछि सञ्चारकर्मीहरुसँग बोल्दै एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिइ कमिसन खान लागेको आरोप लगाउनुभयो । उहाँले शिक्षामन्त्रीले जनक शिक्षा सामग्रीलाई बचाउनुको सट्टा मास्ने गतिविधि गरेको आरोप लगाउनुभयो । अध्यक्ष पराजुलीले सरकार बनेको छोटो समयमै गलत निर्णय भएको भन्दै त्यसलाई आफूहरुले स्वीकार्न नसक्ने बताउनुभयो ।

उहाँले सरकारको लगानीमा निर्माण भएका संस्थाहरु निजीकरण गर्दै दलालहरुलाई दिने चक्रव्युह रचिएको भन्दै शिक्षामन्त्री खनालले आफ्नो पहिलो निर्णय नै जनतालाई भार बोकाउने निर्णय गरेको बताउनुभयो । उहाँले जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झालाई अनुसन्धान गरेर कारबाही गर्नु र व्यवस्थालाई सुधार गर्नुको ठाउँमा निजी क्षेत्रलाई पुस्तक छपाउन दिइ कमिसन खाने खेल रचेको बताउनुभयो ।

अध्यक्ष पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा रहेका मन्त्रीहरुले जनताबाट कमिसन खाएर वर्गीय रसायन भत्काउने काम गरेको भन्दै निर्णय फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रलाई बलियो, सशक्त र गरिब जनताका छोराछोरीको हातमा पुस्तक समयमा नै पुग्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*