आजै सकिने गृहमन्त्री लामिछानेको नागरिकता विवादकाे बहस

बकैया दर्पण संवाददाता
११ माघ २०७९, बुधबार १३:४८

मकवानपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे नागरिकता र पासपाेर्ट मुद्दाकाे बहस बुधबारै सकिने भएकाे छ ।

अन्तिम सुनुवाइका लागि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जारी रहेकाे बहस आजै सकिने भएकाे हाे । अहिलेसम्म निवेदककातर्फबाट अधिवक्ता रवि बसौला, अधिवक्ता रमन कर्ण र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका छन् । अन्तिम सुनुवाइका लागि आज बिहान संवैधानिक इजलास गठन भएकाे थियाे ।

इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मेलित छन् । अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ ।

राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिन नहुने उल्लेख छ । यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ ।

युवराज सफलले लामिछानेको नागरिकता सम्बन्धमा छानबिनको माग गर्दै गृहमा उजुरी दिएका थिए। चितवन-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेपछि रविको नागरिकता अवैध रहेको दाबीसहित निर्वाचन कार्यालयमा उजुरी परेको थियो । उनले अमेरिकी नागरिक भएपछि खारेज भएको २०५० मा निकालेको नागरिकता नै प्रयोग गरिरहेको खुलासा भएको थियो ।

निर्वाचन परिणाम आएपछि उम्मेदवारबारे परेको उजुरीबारे छानविन र निर्णय गर्ने अधिकार नभएको भन्दै आयोगका पदाधिकारी विवादबाट पन्छिदै रविलाई चितवन-२ मा निर्वाचित प्रमाण पत्र दिइएको थियो । उनले सन् २०१८ मा अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अगाडि बढाए पनि अमेरिकी पासपोर्ट लुकाएर सन् २०१५ मै नेपाली पासपोर्ट लिएको तथ्य सार्वजनिक भएको थियो ।

उनले हालसम्म सोही पासपोर्टको प्रयोग गरिरहेका छन्। उनले खारेज भएको नागरिकता नब्यूँताइ मतदाता सूचीमा नाम दर्ता गरेकोसमेत तथ्यहरू बाहिर आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*