प्रतिनिधिसभा उपसभामुखमा कांग्रेस नेतृ यादवको पनि उम्मेदवारी

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १६:०१

मकवानपुर । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसले पनि उम्मेदवार उठाएको छ। कांग्रेसको तर्फबाट मुक्ताकुमारी यादवले उम्मेदवार दर्ता गरेकी हुन्।

शुक्रबार संसद्‌ भवनमा पुगेर यादवले उम्मेदवारी दर्ता गरेकी हुन्। यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

आज बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष नेताहरुको बैठकले यादवलाई उम्मेदवारी बनाउने सहमति गरेको थियो। यादव धनुषाबाट समानुपातिक सांसद हुन्। १४औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् । प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्। सभामुखमा कांग्रेसले ईश्वरी न्‍यौपानेलाई उठाएको थियो। उनको पक्षमा १०० मत परेको थियो।

यस्तै, सत्तारूढ गठबन्धनको तर्फबाट उपसभामुखको उम्मदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानाले उम्मेदवारी दर्ता गरिसकेकी छिन् । उनलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार सवा ४ बजे मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*