बोलाए आज प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक

बकैया दर्पण संवाददाता
३ माघ २०७९, मंगलवार ०९:५९

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवासमा बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । यहि माघ ५ गतेका लागि तय गरिएको प्रतिनिधि सभाका सभामुखको चुनाव र राष्ट्रपतिको चुनावमा सहमति खोज्नका लागि प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक डाक्नुभएको बुझिएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक समिकरण केही फेरिएको छ । प्रधानमन्त्री प्रचण्ड पद तथा शक्ति बाँडफाँटमा कुनै न कुनै हिसाबले नेपाली कांग्रेसलाई पनि सहभागि गराउने प्रयासमा हुनुहुन्छ । तर, नेकपा एमाले भने कांग्रेसको समर्थनप्रति झस्किएको छ ।

कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एक पद आफुले पाउनुपर्ने संकेत गरेको छ । एमाले भने माओवादीसँगको पूर्व सहमति अनुसार यी दुवै पद आफुले पाउनुपर्ने अडानमा छ । यसैबीच, सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको समते भागबण्डा टुंगो लगाएको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भएको छलफलपछि सबै पद बाँडफाँट मिलेको बताईएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ । प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ । त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ ।

५ माघमा हुने सभामुखको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुनेछ । एमाले उच्च स्रोतका अनुसार सभामुखमा झापा–२ बाट निर्वाचित देवराज घिमिरेको सम्भावना बढी छ । सत्ता गठबन्धनको भागबण्डामा उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको छ । उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ । रास्वपामा उपसभामुखको दाबेदार सोभिता गौतम हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*