आज माघ १ गतेः माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देश
बकैया दर्पण संवाददाता
१ माघ २०७९, आईतवार ११:५५

मकवानपुर । आज माघ १ गते अर्थात माघ महिनाको पहिलो दिन, माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता पनि छ । घ्यू, चाकु, उसिनेको तरुल र तिलको परिकार खाएर यो पर्व मनाइँदैछ ।

आजको दिन मासको दाल र चामल मिसाएर घ्यू हालेर बनाइएको खिचडी पनि खाने चलन छ । चिसो मौसममा यस्ता खाद्य पदार्थको सेवनले शरीरमा उर्जा प्रदान हुने चिकित्सकहरूको भनाइ छ । नरदेवी अस्पतालका डा. जया सत्यालका अनुसार जाडोयामको समय यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिने, ताप सन्तुलनमा राख्ने र चिसोबाट जोगाउने काम गर्छ । यस्तै रोग प्रतिरोधात्मक शक्ति पनि बढाउने काम गर्छ र शरीरलाई निरोगी राख्छ । उहाँले कन्दमूलले पाचनशक्ति बलियो बनाउने भन्दै सङ्क्रान्तिका दिनबाहेक जाडोयामभरि नै यी पदार्थ नियमित भोेजन गर्नुपर्ने सल्लाह दिनुभयो ।

आजै थारु समुदायको माघी पर्व पनि मनाइँदैछ । उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले आजको दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । यस्तै तराई मधेशमा मकर सङ्क्रान्ति पर्व मनाइँदैछ भने काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहँु भनेर आजको दिन चाकु, तरुल लगायतका परिकार सेवन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।

यस्तै तराईका कतिपय ठाउँमा भने आज माघ १ गतेलाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाइन्छ । आज बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघे सङ्क्रान्तिको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शुभकामना सन्देश दिँदै नेपालीको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*