हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्ने: प्रधानमन्त्री दाहाल

बकैया दर्पण संवाददाता
२९ पुष २०७९, शुक्रबार १३:२७

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बागमती प्रदेशले हस्तकला उद्योगकलाई प्रवर्द्धन गर्ने कामको थालनी गरिसकेको भन्दै सरकारले आगामी दिनमा सात वटै प्रदेशमा हस्तकला क्षेत्रको प्रवर्द्धन गर्ने बताउनुभयो ।

उहाँले हस्तकला क्षेत्र नेपालका लागि विकासको अग्रगामी क्षेत्र भएको उल्लेख गर्दै नेपालकै वस्तुहरुको प्रयोगबाट नेपालीहरुकै सीप र जाँगरलाई प्रयोग गरी विश्वभर व्यापार गर्नसकिने यो क्षेत्रको प्रवर्द्धनमा सरकार लाग्ने बताउनुभयो । उहाँले हस्तकला क्षेत्र राम्रोसँग प्रवद्र्धन गर्नसके देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउनसक्ने र विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफूले यस पटक राम्रा बाहेकका काम गर्दै नगर्ने प्रण लिएको बताउनुभयो । उहाँले आफूले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रुपमा लिएको भन्दै जनताको यो अग्निपरीक्षामा राजनीतिक दलहरु पास भएर देखाउनुपर्ने बताउनुभयो ।

उहाँले विद्यालयको पाठ्यक्रममा नै हस्तकला राखेर पुस्तान्तरण गर्न सरकार लाग्ने पनि बतउनुभयो । उहाँले हस्तालालाई शिक्षा क्षेत्रमा प्रवेश गराइ पुस्ता हस्तान्तरणलाई सहज बनाउने र ११ लाख प्रत्यक्ष र परोक्ष सदस्यलाई बढाउँदै लैजाने उद्देश्यका साथ हस्तकला क्षेत्रमा बजेटको व्यवस्थापन हुने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई राम्रो विश्वासमा नलिकन सरकारले अर्थतन्त्रमा देखापरेका समस्याको समाधान गर्न सम्भव नरहेको पनि बताउनुभयो । उहाँले राजनीतिक परिवर्तन भइसकेको र अब आर्थिक क्रान्ति, आर्थिक समृद्धिमा रुपान्तरण गर्नुपर्नेमा आफू प्रयत्नशील रहने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*