मन्त्रिपरिषद् विस्तारको तयारी, को को छन त मन्त्रीका आकांक्षी ?

बकैया दर्पण संवाददाता
२८ पुष २०७९, बिहीबार १३:५४

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार बोलाउनु भएको सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका बारे छलफल हुने भएको छ । प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार आज ३ बजे बस्ने सत्ता गठबन्धनका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागवण्डाका विषयमा छलफल हुनेछ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले संसदबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएको थियो ।

पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएका दाहालले सोही दिन ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको थियो । जसमा एमालेबाट उपप्रधान एवं अर्थ मन्त्रीमा विष्णु पौडेल,मन्त्रीहरुमा ज्वालाकुमारी साह,दामोदर भण्डारी र राजेन्द्र कुमार राई रहेका छन् । पौडेल बाहेक अरु बिनाविभागीय मन्त्री छन् उनीहरुको मन्त्रालयको टुंगो लागेको छैन । त्यसैगरी माओवादीबाट प्रधानमन्त्री दाहालका अलावा नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री हुनुुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री र जनमत पार्टीबाट अब्दुल खान मन्त्री हुनुहुन्छ । खान पनि बिनाविभागीय मन्त्री हुनुहुन्छ । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था रहेको छ । दाहालले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद् विस्तार गर्न खोज्नु भएको हो ।

विज्ञहरुले मन्त्रालयको संख्या घटाउन सुझाव दिएपनि गठबन्धन सरकार भएको र सबैलाई भागवण्डा पुर्याउनु पर्ने भएकाले तत्काल मन्त्रालयको संख्या घटाउने पक्षमा दाहाल हुनुहन्न । यसमा सत्ता साझेदार दलहरुपनि सहमत रहेको गठबन्धन दलका एक नेताले बताए । दाहाल नेतृत्वको गठबन्धन सरकारमा ७ दलको सहभागिता रहेको छ । ती मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),जनता समाजवादी पार्टी (जसपा ) र नागरिक उन्मुक्ति पार्टीबाट कोही पनि मन्त्री बनेका छैनन् । अब विस्तार हुने मन्त्रिपरिषदमा राप्रपा र जसपाले सहमागिता जनाउने देखाएका छन भने नागरिक उन्मुक्ति पार्टीले पार्टीका संरक्षक एवं जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको रिहाइ पछि मात्रै सरकारमा जाने अडान राखेको छ ।

कुन दलबाट को को छन् त मन्त्रीका आकांक्षी ?

प्रतिनिधि सभामा दोस्रो ठूलो दल रहेको नेकपा एमाले एमालेले ८ वटा मन्त्रालयको माग गरेको छ । ४ जना मन्त्री भैसकेका बाहेक एमालेबाट मन्त्रीका लागि योगेश भट्टराई, भगवती चौधरी, विद्या भट्टराई, पृथ्वीसुब्बा गुरुङ, एलपी साँवा, छविलाल विश्वकर्मा,महेश बर्तौला ठाकुर गैरे लगायले मन्त्रीका लागि दाबी गर्र्दै लबिङ गर्न थालेका एमालेका एक नेताले बताए । उनीहरु बाहेक अरुले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्री बन्ने आकांक्षा देखाएका छन् । एमालेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र रक्षा मन्त्रालयको दाबी गरेको छ ।

त्यसैगरी माओवादीले ६ वटा मन्त्रालयको दाबी गरेको छ । जसमा मन्त्रीका लागि राजन दाहाल (लेखनाथ), महेन्द्रबहादुर शाही, अमनलाल मोदी, रेखा शर्मा, सुदन किराँती हितबहादुर तामाङ, माधव सापकोटा, सूर्यमान दोङ, हरि चौधरी र महेन्द्र राय यादव आकांक्षी रहेका छन् ।

सत्ता साझेदार अर्काे दल राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधानमन्त्री सहित ३ मन्त्रालयमा दाबी गरेको छ । राप्रपा स्रोतका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपा सरकारमा जाँदैछ । त्यसमा सांसदहरु धवल शमशेर राणा,विक्रम पाण्डे,ध्रुव बहादुर प्रधान,बुद्धीमान तामाङ र दीपक सिंहले मन्त्री बन्ने इच्छा देखाएका छन् । राप्रपाले ऊर्जा तथा जलस्रोत, सिँचाइ र वन मन्त्रालय दाबी गरेको छ ।

उता प्रधानमन्त्री दाहालको सपथ ग्रहणकै दिन सरकारमा सामेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि ४ वटा मन्त्रालयमा दाबी गरेको छ । उपप्रधमान एवं गृहमन्त्री सहित सरकारमा गएको रास्वपाले त्यसबाहेक शिक्षा, विज्ञान तथा प्रविधि,श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मागेको छ । जसमा डा. तोषिमा कार्की, डा. चन्दा कार्की, सन्तोष परियार, शिशिर खनाल र डोलप्रसाद अर्यालले मन्त्री बन्ने आकांक्षा राखेका छन् ।

यसैगरी जसपाले २ वटा मन्त्रालयमा दाबी गरेको छ । उसले परराष्ट्र, सहरी विकास तथा गरिबी निवारण मन्त्रालय राख्न खोजेको छ । जसका लागि रामसहाय यादव,अशोक राई, प्रदिप यादव मन्त्री बन्न चाहन्छन् । सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको छ । विना विभागीय मन्त्री खानलाई उक्त मन्त्रालय दिनु पर्ने माग जनमत पार्टीको छ ।

यसैगरी आजको बैठकमा प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन र त्यसका लागि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ । (इमेजखबरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*