बकैयादर्पणमा बिहान १० बजेसम्मका १० खबरहरु

बकैया दर्पण संवाददाता
२८ पुष २०७९, बिहीबार १०:३३

१. प्रदेश १ ले आज सभामुख पाउने

मकवानपुर । प्रदेश १ ले आज सभामुख पाउने भएको छ । आज बिहान ११ बजे बस्ने प्रदेश सभाको पहिलो बैठकले माओवादीका बाबुराम गौतमलाई सभामुख घोषणा गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता चन्द्रमणी पोखरेलले सभामुखमा एक जनाको मात्र उम्मेदवारी परेकाले आजको पहिलो बैठकले गौतमलाई सभामुखमा निर्विरोध भएको घोषणा गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सभामुख चयन भएपछि बस्ने दोस्रो बैठकले उपसभामुख निर्वाचनको लागि मिति तय गर्नेछ । प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको थियो । सोहीअनुसार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त भइसक्नुभएको छ ।

२. बागमती प्रदेशसभामा सभामुख लागि आज उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने पक्का भएको छ । सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो ।

राप्रपाले हिजो पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार दिउँसो साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

भोलि प्रदेश सभाको बैठक बोलाउने र मतदान गरेर सभामुखको परिणाम सार्वजनिक गर्ने तयारी छ । प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

बागमती प्रदेश सभामा नेपाली काँग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ र हाम्रो नेपाली पार्टीका २ गरी १ सय १० जना सांसद छन् । सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्छ ।

३. सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुने

मकवानपुर । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदैछ । दिउँसो १ बजे मतदान गर्ने कार्यतालिका रहेको सुदूरपश्चिमको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्र बहादुर पालले जानकारी दिनुभयो ।

प्रदेशको सभामुखमा माओवादीका भीमबहादुर भण्डारी र काँग्रेसका मानबहादुर रावलको उम्मेद्वारी परेको छ । माओवादीका भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिँदा काँग्रेसका रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रदेश सभा सचिवालयका प्रवक्ता पालका अनुसार उपसभामुखको लागि भने आउँदो सोमवार २ गते मतदान गर्ने तयारी भइरहेको छ ।

४. नेपालमा महिला हिंसाको उजुरी घट्यो

मकवानपुर । नेपालमा महिला हिंसाको उजुरी घटेको छ । राष्ट्रिय महिला आयोगका अनुसार कोरोना महामारीका समयमा २ सय गुणाले बढेको महिला हिंसाको उजुरीको सङ्ख्या चालु आर्थिक वर्षमा भने घट्दै गएको हो । महामारीको समयमा राष्ट्रिय महिला आयोगमा मासिक औसतमा एक सय ३५ भन्दा बढि हिंसाका उजुरीहरू दर्ता हुने गरेका थिए । तर अहिले भने ५९ प्रतिशतले घटेर मासिक ८० वटा मात्रै उजुरी दर्ता भएका छन् ।

हिंसाको उजुरी घट्दै जानुमा हिंसा प्रति मानिस सचेत भएको वा उजुरी कहाँ गएर दिने भन्ने थाहा नभएको हुनसक्ने राष्ट्रिय महिला आयोगका प्रवक्ता चमिला भट्राईले बताउनुभयो ।

आयोगका अनुसार गत साउनदेखि कात्तिकसम्म महिला हिंसाका तीन सय ४७ वटा उजुरी दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै घरेलु हिंसाका तीन सय १६ वटा उजुरी प्राप्त भएका छन् । साउनमा एक सय ३०, भदौमा ९५, असोजमा ६० र कार्तिकमा ६२ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

५. चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण

मकवानपुर । विश्व बैँकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेकटस’ प्रतिवेदनका अनुसार नेपालमा सन् २०२३ मा आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ४ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

आर्थिक मन्दिले विकासोन्मुख देशहरूलाई कडा प्रहार गर्ने देखिएको विश्व बैँकले बताएको छ । विश्वव्यापी आर्थिक वृद्धि ६ महिनाअघि अपेक्षा गरिएको ३ प्रतिशतबाट घटेर अहिले १ दशमलव ७ प्रतिशत मात्र हुनसक्ने देखिएको जनाएको छ । उच्च मुद्रास्फीति, उच्च ब्याजदर, कम लगानी र युक्रेनमा रुसको आक्रमणका कारण उत्पन्न भएको अवरोधका कारण विश्वव्यापी वृद्धि तीव्र रुपमा सुस्त बन्दै गएको छ । विश्व बैँकले दक्षिण एसियाली देशहरूमा आर्थिक वृद्धि विस्तारै हुने पनि प्रक्षेपण गरेको छ ।
६. जलवायु परिवर्तनको उच्च जोखिममा सीमान्तकृत समुदाय

मकवानपुर । सीमान्तकृत समुदायलाई जलवायु परिवर्तनको असरबाट जोगाउन तीन तहकै सरकारले प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् । जलवायु परिवर्तनको उच्च जोखिममा नेपालका सबै क्षेत्र र वर्ग रहे पनि सीमान्तकृत समुदाय थप जोखिममा पर्ने विषय सबैले बुझ्नुपर्ने उनीहरू बताउँछन् ।

महिला र सीमान्तकृत समुदाय तुलनात्मक रूपमा प्राकृतिक स्रोतमा बढी निर्भर छन् । जलवायु परिवर्तनका कारण प्राकृतिक स्रोत र गुणस्तर घटिरहेको छ । यस कारण पनि उनीहरू थप जोखिममा रहने जलवायु परिवर्तन र यसको असरका जानकार मदन परियारले जानकारी दिनुभयो । उहाँले सीमान्तकृत समुदायलाई जलवायु परिवर्तनको असरबाट जोगाउन तीन तहकै सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तनको बढ्दो असरलाई सम्बोेधन गर्न नेपालले विभिन्न नीति निर्माण र केही कार्यान्वयन गरिरहेको छ । खासगरि सीमान्तकृत समुदायलाई लक्षित गर्दै सरकारले जलवायु परिवर्तनसम्बन्धी लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना कार्यान्वयन गरिरहेको वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत दीपा ओलीले जानकारी दिनुभयो । १० वर्षे कार्ययोजना कार्यान्वयन अन्तर्गत अभिमुखीकरण कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

७. अफगानिस्तानको विदेश मन्त्रालय नजिकै आत्मघाती आक्रमणमा २० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको विदेश मन्त्रालय नजिकै आत्मघाती आक्रमण भएको छ । आक्रमणका परेर २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन ।

८. भारतको विहारमा भएको प्रदर्शन हिंसात्मक बन्दै

एजेन्सी । भारतको विहारमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । बिहारको बक्सरमा जमिनको मुआब्जाको माग गर्दै भएको प्रदर्शमा हिंसात्मक बन्दै गएको हो । प्रदर्शनकारीले प्रहरीको सवारीसाधनमा आगजनी गरेका समाचार संस्था एएनआईले जनाएको छ ।

बक्सर प्रहरीका अनुसार ६ सय मानिसले राज्य सरकारको उर्जा उत्पादन केन्द्रको सवारीसाधनसँगै प्रशासनको गाडीमा पनि तोडफोड गरेका थिए । स्थिती नियन्त्रणको लागि प्रहरीले बल प्रयोग गरेको खबरमा उल्लेख छ । झडपमा परेर ४ प्रहरी घाइते भएका छन् ।

९.अमेरिकाको नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा ः राष्ट्रसङ्घ

एजेन्सी । अमेरिकाको नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा देखिएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर तुर्कले व्यक्तिको उत्पत्ति, आप्रवासनको स्थिति वा उनीहरू अन्तर्राष्ट्रिय सीमामा रहेका व्यक्तिले शरण लिन पाउने अधिकार मानव अधिकार भएको भन्दै नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा देखिएको बताउनुभएको हो ।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले टाइटल ४२ नामक विवादास्पद नियमलाई विस्तार गर्ने नयाँ योजनाको घोषणा गर्नुभएको थियो ।

१०. नटिङघम फरेस्ट र साउथह्याम्पटन इफएएल कप फुटबलको सेमिफाइनलमा प्रवेश

एजेन्सी । नटिङघम फरेस्ट र साउथह्याम्पटन इफएएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा नटिङघम फरेस्टले हुल्भरह्याम्पटन ह्वानडरर्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

यस्तै राति नै भएको खेलमा साउथह्याम्पटनले म्यान्चेस्टर सिटीलाई २ शून्यले पराजित गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*