शुक्रबार प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिने

बकैया दर्पण संवाददाता
२७ पुष २०७९, बुधबार १७:२४

मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते अर्थात शुक्रबार विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए ।

कार्की आइतबार ६० जना सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ ।

प्रदेश १ को सभामुखको निर्वाचन बिहीबार हुँदैछ । सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने र शनिबार उपसभामुखको निर्वाचन गर्ने तयारी छ ।

यस्तै, उपसभामुखको निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गर्ने कार्यसूची छ । सत्तारुढ गठबन्धनबीच भागवण्डा गर्दा सभामुख माओवादी केन्द्र र उपसभामुख नेकपा एमालेले लिने सहमति भएको थियो ।

प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ जना गरी ९३ जना प्रदेशसभाका सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*