गृहमन्त्री रवि लामिछानेको प्रहरीलाई निर्देशन फरार सांसद महतोलाई पक्राउ गर्न

बकैया दर्पण संवाददाता
२७ पुष २०७९, बुधबार १७:१८

मकवानपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले सो कुराको जानकारी गराएका हुन् । सो क्रममा उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न आफुले प्रहरीलाई निर्देशन दिइसकेको बताए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भई प्रधानमन्त्रीको पक्षमा मत दिएका थिए ।

बुधबार पत्रकारहरुले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ”मैले देखिनँ । पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’

सांसद महतोमाथि मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*