बकैया दर्पणमा बिहानसम्मका महत्वपूर्ण खबरहरु

बकैया दर्पण संवाददाता
२५ पुष २०७९, सोमबार १०:४२

१. सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै

मकवानपुर । प्रतिनिधि सभा निर्वाचन भएपछि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदै छ । गत मङ्सिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम नतिजा घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज अधिवेशन सुरु हुन लागेको सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बतानउनुभयो । उहाँका अनुसार पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आह्वानअनुसार आज दिउँसो १ बजे दुवै सदनको बैठक सुरु हुने धमलाले जानकारी दिनुभयो । पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । अधिवेशनका बैठक यसअघिकै प्रतिनिधि सभाको नियमावलीअनुसार सञ्चालन हुनेछन् । पहिलो बैठकबाट प्रतिनिधि सभा नियमावली २०७५ लाई पुनः अनुमोदन गराउने तयारी भएको छ ।

यसअघि सर्वदलीय बैठकले अर्को व्यवस्था नभएसम्म पुरानै नियमावलीका आधारमा बैठक सञ्चालनको निर्णय गरेको थियो । अधिवेशन अन्तर्गत प्रतिनिधि सभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

२. प्रदेशको शक्ति बाँडफाँडमा सत्ता साझेदार दलबीच सहमति

मकवानपुर । सरकारमा रहेका राजनीतिक दलहरूबीच प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुखको नेतृत्वको बारेमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको शीर्ष नेताबीचको बैठकमा सातै प्रदेशको शक्ति बाँडफाँडका बारेमा सहमति भएको हो ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालय स्रोतका अनुसार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति भएको छ । कर्णालीमा माओवादी केन्द्रले पाँचै वर्ष सरकार चलाउने सहमति भएको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मधेस प्रदेशमा पहिलो कार्यकालमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । बागमतीमा पहिलो कार्यकाल माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा पहिलो कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको नेताहरूले बताएका छन् ।

एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रको सभामुख र माओवादी केन्द्रको मुख्यमन्त्री भएको प्रदेशमा एमालेका तर्फबाट सभामुख हुने सहमति गरिएको छ भने बागमती प्रदेशको सभामुख पद चाहिँ राप्रपालाई दिने निर्णय भएको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार मधेस प्रदेश र कर्णाली प्रदेशको प्रदेश सभामा सभामुखमा एमालेका तर्फबाट नियुक्त हुने सहमति भएको छ । प्रदेश १ र गण्डकी प्रदेशको उपसभामुख एमाले, बागमती र कर्णाली प्रदेश उपसभामुख माओवादी केन्द्र, लुम्बिनी प्रदेशमा राप्रपा र मधेशमा जनमत पार्टीका तर्फबाट उपसभामुख चयन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

३. प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सपथ ग्रहण गर्दै

मकवानपुर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज सपथ ग्रहण गर्दै हुनुहुन्छ । कार्कीले आज दिउँसो २ बजे शपथ ग्रहण गर्नुहुने छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा कार्कीलाई हिजो मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

अहिले रहेका १३ मन्त्रालयलाई ९ या ११ वटामा झार्ने कार्कीको भनाइ थियो । ९ मन्त्रालय रहे माओवादी केन्द्रले ३, राप्रपाले १ र एमालेले ५ मन्त्रालय राख्ने तयारी गरेको छ । ११ मन्त्रालय रहँदा एमालेले ६ माओवादीको भागमा ३ र राप्रपालाई २ दिने एमालेको तयारी रहेको छ ।

४.सुदूरपश्चिमसहितका कीिह प्रदेशमा हल्का हिमपातको सम्भावना

मकवानपुर । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातसहित आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बिहानको समयमा तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लागिरहेको छ ।

राति भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

५.युक्रेनद्वारा सयौँ सैनिक मारेको रुसको आरोप अस्वीकार

एजेन्सी । युक्रेनले रुसले सयाँै सैनिक मारेको भनी लगाएको आरोपको खण्डन गरेको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको क्रामाटोर्स्कमा रहेका १३ सय युक्रेनी सेनाका दुईवटा अस्थायी बेसमा मिसाइल आक्रमण गरेको बताएको थियो ।

सामुहिक क्षेप्यास्त्र आक्रमण गरि सयौँ युक्रेनी सेनाको मृत्यु भएको रुसको दाबीलाई युक्रेनले भने गलत भएको बताएको छ । रुसको आक्रमणले आफ्नो सशस्त्र बलमा कुनै पनि असर नपरेको किभले बताएको छ ।

६. तीन वर्षपछि चीनका सबै सीमाना खुल्ला

एजेन्सी । तीन वर्षपछि अर्थात सन् २०२० को मार्चमा भ्रमणमाथि प्रतिबन्ध लगाइएयता चीनले पहिलोपटक आइतवारदेखि अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि आफ्नो सीमाना खुल्ला गरेको छ । अबदेखि भने चीन प्रवेश गर्ने पर्यटकहरूले क्वारेन्टाइनमा बस्नुपर्ने छैन । चीनले अझैपनि कोभिड सङ्क्रमणको सामना गरिरहेकै अवस्थामा सीमाना खुला गर्ने निर्णयलाई ‘शून्य कोभिड’ नीतिमा आएको महत्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ ।

यसैबीच चीनले फैलदो कोभिड–१९ को सङ्क्रमणको नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड दिएको छ । चीन सरकारले हाल त्यहाँ विस्तारित भएको सो सङ्क्रमणको नियन्त्रण गर्न बुस्टरकै दोस्रो मात्रा लागाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने जनाइएको हो ।

७. नेपाल टी–ट्वान्टी लिगमा आज इलिमिनेटर खेल हुँदै

मकवानपुर । नेपाल टी–ट्वान्टी लिगमा आज हुने इलिमिनेटर खेलमा काठमाडौँ नाईट्स र विराटनगर सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । किर्तिपूर स्थित टियु मैदानमा हुने खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । इलिमिनेटर खेलमा यस लिगको समूह चरणका खेलमा तेस्रो चौथो स्थानमा रहेका टोलीबीच खेल हुनेछ । विराटनगरले तेस्रो तथा काठमाडौँले चौथो स्थानमा रहँदै समूह चरण समाप्त गरेका थिए ।

आजको इलिमिनेटर खेलको विजेताले फाईनलमा स्थान बनाउन आइतवार भएको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*