बकैया दर्पणका महत्वपूर्ण १० खबरहरु

बकैया दर्पण संवाददाता
२४ पुष २०७९, आईतवार ११:०८

१. प्रदेश १ मा आज नयाँ सरकार बन्ने

मकवानपुर । प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ । सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज ५ बजेसम्मको समय दिनुभएको छ । त्यसैअनुसार दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी गरिरहेका छन् । नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्र्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन् ।

२. मधेस प्रदेशका तीन वटा स्थानीय तहले अझै बजेट ल्याएनन्

मकवानपुर । मधेस प्रदेशका तीन वटा स्थानीय तहले आर्थिक वर्ष सुरु भएको ६ महिना बित्दा पनि बजेट ल्याउन सकेका छैनन् । धनुुषाको कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र रौतहटको बोधिमाई नगरपालिकाले अहिलेसम्म बजेट नल्याएका हुन् । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहहरूले असार १० मा नयाँ आर्थिक वर्षका लागि बजेट ल्याइसक्नुपर्छ ।

पालिकामा भएको राजनीतिक दलबीचको विवाद र असहमतिका कारण समयमा बजेट ल्याउन नसकिएको पालिका प्रमुखहरूले बताएका छन् । बजेट नल्याउँदा खर्च गर्नुपर्ने काममा समस्या भएको उनीहरूको भनाइ छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने नागरिकको मतको कदर गर्दै जनप्रतिनिधि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएको छ ।

३. माओवादीले वाम एकताको लागि आजदेखि छलफल गर्ने

मकवानपुर । नेकपा माओवादी केन्द्रले विभिन्न वाम दलरूसँगको एकताका लागि आजदेखि छलफल गर्ने भएको छ । वाम एकताको लागि गठन भएको पाँच सदस्यीय वार्ता टोलीले आजदेखि छलफल गर्ने टोलीका सदस्य एवं माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनुभयो ।

उहाँका अनुसार समितिले वामपन्थी दलहरूसँग एकताको लागि प्रयास गर्नेछ । एकता नभए वाम मोर्चा बनाउने उहाँको भनाइ छ । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको हो । हिजो बिहान मात्रै पनि एकताका बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो ।

४. नेसपाको राजनीतिक समितिको बैठक आज

मकवानपुर । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक सुरु हुने नेसपाले जनाएको छ । बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकतालगायत विषयमा मुख्य रूपमा छलफल हुने नेताहरूले बताएका छन् ।

समाजवादी धारको विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले बताउनुभयो । उहाँका अनुसार समाजवादी धु्रवीकरणको विषय, पार्टीको सङ्गठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीति लगायत एजेण्डाहरूमाथि बैठकमा छलफल हुनेछ ।

५. निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

मकवानपुर । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपनिर्वाचनका लागि आयोगले आइतबार सूचना जारी गर्दै संविधानको धारा २७१ अनुसार दल दर्ता गर्न आह्वान गरेको हो ।

आयोगमा दर्ता कायम रहेका दलहरुले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने छन् ।

लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो ।

राष्ट्रिय सभा उपनिर्वाचन यही माघ २५ गते हुँदैछ ।

६. जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ ।

सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश भएसँगै सरकारलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

जसपाले गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका दुई वटा सर्तहरू समेटिएको भन्दै विश्वासको मत दिने बताएको हो ।

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा हिजो सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । जसपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने विषयमा भने असहमति व्यक्त गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि २६ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

७. कोरोना बीमा वापतको रकम दिन अझै समय लाग्ने

मकवानपुर । कोरोना बीमा दाबी गरेका एक लाख भन्दा धेरैलाई बीमा वापतको रकम दिन अझै समय लाग्ने देखिएको छ । १७ लाखले बीमा गरेकामा १ लाख ६५ हजारभन्दा धेरैले कोरोना बीमा दाबी गरेका राष्ट्रिय बीमा प्राधिकरणले जनाएको छ । जसमध्ये अहिलेसम्म करिब ६२ हजारले भुक्तानी लिएका प्राधिकरणको अनुमान छ ।

प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले सुरुको साढे ३ अर्बबाट ३५ हजार जतिले बीमा वापतको रकम लिएको बताउनुभयो । त्यसपछि सरकारबाट दायित्व पाउने भन्दै केही बीमा कम्पनीले १५ हजार जतिलाई भुक्तानी गरेको थियो । तर सरकारले दायित्व नलिएका कारण भूक्तानी रोकिएको प्राधिकरणका अधिकारीहरूले बताउँदै आएका थिए ।

यसमा गत महिना सरकारले एक अर्ब निकासा गरेपछि झण्डै १३ हजारले बीमा वापतको रकम पाएका प्रधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताउनुभयो ।

८. चीनले हङकङसँगको सीमा नाका आजदेखि खोल्ने

एजेन्सी । चीनले हङकङसँगको सीमा नाका आजदेखि खोल्ने भएको छ । करिब तीन वर्षसम्मको नाका प्रतिबन्ध आजदेखि हट्ने भएको हो । योसँगै हङकङबाट चीन पुग्ने यात्रुले क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटेको छ । यद्यपी यात्रुहरूले कोभिड १९ परीक्षणको नेगेटिभ रिपोर्ट भने देखाउनुपर्ने अलजजिराले लेखेको छ ।

९. चीनमा अत्यावश्यक बाहेकका यात्रालाई जर्मनीद्वारा निरुत्साहित

एजेन्सी । चीनमा अत्यावश्यक बाहेकका यात्रालाई जर्मनीले निरुत्साहित गरेको छ । चीनमा कोभिडको नयाँ प्रजाति फैलने क्रममा रहेको भन्दै जर्मनीले अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको हो ।

चीनमा कोभिडको सङ्क्रमण दर बढेको भन्दै एक दर्जनभन्दा बढी देशले चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् । युरोपेली सङ्घका विज्ञहरूले यसै हप्ता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूको कोभिड परीक्षणको माग गर्न र आगमनमा छड्के परीक्षण गर्न सुझाब दिएका थिए ।

१०. टी–२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्ने

मकवानपुर । नेपाल टी–२० क्रिकेट लिगमा आजदेखि क्वालिफायरका खेल हुँदैछ । पहिलो क्वालिफायरमा आज शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्स खेल्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

आजको विजेता सिधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएका खेलबाट विराटनगर सुपर किङ्ग्स र काठमाडौँ नाइट्स प्लेअफमा पुगेका छन् । विराटनगरले काठमाडौँलाई हराएर प्लेअफमा स्थान पक्का गरेको हो भने फार वेस्टले पोखरालाई हराउँदा काठमाडौँले पनि प्ले अफमा पुग्ने मौका पाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*