संसद बैठकका लागि तयारी तीब्र

बकैया दर्पण संवाददाता
२३ पुष २०७९, शनिबार १२:५८

मकवानपुर । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक यही सोमबार (पुस २५ गते) बाट सुरू हुँदैछ । दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद् सचिवालयले एक सिटको फरकमा भौतिक दुरी कायम राखेर सांसदहरू बस्ने सिटको व्यवस्थापन गर्दैछ । राष्ट्रिय सभा स्थायी सदन भएकाले पुरानै नियमावली बमोजिम नै सञ्चालन हुनेछ भने प्रतिनिधि सभा भने नयाँ निर्वाचनपछि नयाँ नियमावली बमोजिम सञ्चालन गर्नुपर्ने स्थिति छ ।

शुक्रबार भएको सर्वदलीय बैठकमा प्रतिनिधि सभाको बैठक प्रतिनिधि सभाको नियमावली २०७५ बमोजिम बस्ने सहमति भएको छ । पहिलो बैठकमा नयाँ कार्यविधि बनाएर बैठक बस्ने वा प्रतिनिधि सभाको पुरानो नियमावली बमोजिम बन्ने भन्ने विषयमा शुक्रबार ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठकमा छलफल गराउनुभएको थियो ।

प्रतिनिधि सभाको पहिलो बैठकको सुरूमा ज्येष्ठ सदस्यले प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम बैठक सञ्चालन हुने प्रस्ताव राख्नेछन् । सो प्रस्ताव संसद्को बैठकबाट पारित भएपछि बैठकमा दलीय आधारमा छलफल सुरू हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेताले सम्बोधन गर्नेछन् ।

प्रतिनिधि सभाको २६ गतेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले सो दिन पनि दलीय आधारमा छलफल हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावका दिन छलफलका लागि संसद् सचिवालयले दुई घन्टाको समय छुट्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*