आजको महत्वपूर्ण ८ खबरहरु

बकैया दर्पण संवाददाता
२३ पुष २०७९, शनिबार ११:२५

१. सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइने

मकवानपुर । सरकारमा रहेका राजनीतिक दलकोतर्फबाट सार्वजनिक गरिने न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज कार्यदलले शीर्ष नेतालाई बुझाउने भएको छ । मस्यौदा बुझाउने समय भने टुङ्गो नलागेको राप्रपाका महामन्त्री धवलशम्शेर राणाले बताउनुभयो ।

न्यूनतम साझा कार्यक्रमको बारेमा सहमति गरेको कार्यदलले शीर्ष नेतालाई जिम्मा लगाउने अधिकार संयोजक तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलललाई दिएको उहाँको भनाइ छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रमको अन्तिम मस्यौदा तयार पारेका छन् ।

गुणस्तरीय सेवा, दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायतका विषय मस्यौदामा समेटिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने विषयमा पनि सरकारमा रहेका दलहरू सहमत भएका छन् ।

२. काँग्रेस संसदीय दलको बैठक आज बस्दै

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । काँग्रेसका मुख्य सचेतक रमेश लेखकले आज संसदीय दलको पहिलो बैठक बस्न लागेको जानकारी दिँदै संसद्मा अब काँग्रेसले खेल्ने भूमिका र वर्तमान राजनीतिक गतिविधि बारे छलफल हुने बताउनुभयो ।

निर्वाचनमा पहिलो दल बनेको काँग्रेस यसअघिको गठबन्धनलाई जोगाउन नसक्दा प्रतिपक्षमा पुगेको छ । प्रतिनिधिसभाको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । अब संसदमा कसरी रचनात्मक रूपमा प्रतिपक्षीको भूमिका निभाउने भन्ने बारेमा बैठकले निर्णय लिने प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेससँग पनि विश्वासको मत मागेकाले उहाँलाई विश्वासको मत दिने कि नदिने भन्नेबारेमा पनि छलफल हुने बताईएको छ ।

३. तराईमा शीतलहर र पहाडमा आंशिक बदलीको सम्भावना

मकवानपुर । देशका पहाडी भू–भागमा अहिले आंशिक बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

४. सर्वोच्च बार एसोसिएसनको निर्वाचन आज हुँदै

मकवानपुर । सर्वोच्च बार एसोसिएसनको चुनाव आज हुँदै छ । बारको ३४ औँ कार्यसमिति चयनका लागि हुन लागेको चुनावमा सत्तापक्ष र विपक्षी दल निकट कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने छ । बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी मैदानमा छन् । अध्यक्षका लागि बृहत् लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले उम्मेदवारी दिनुभएको छ ।

एक उपाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्लेको उम्मेदवारी परेको छ । सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्रीबीच प्रतिस्पर्धा हुने छ । सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सङ्गीना शाक्य प्रतिस्पर्धीका रूपमा हुनुहुन्छ ।

एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेलले उम्मेदवारी दिनुभएको छ भने एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेलबीच प्रतिस्पर्धा हुने छ । ६ सय २१ जना मतदाता रहेको सर्वोच्च बारमा पदाधिकारी तथा सदस्यहरूको कार्यकाल दुई वर्षको हुनेछ ।

५. बढ्दै मानिस र बन्यजन्तुको द्वन्द्व, क्षतिपूर्ति कम भएको पीडितको गुनासो

मकवानपुर । चितवन राष्ट्रिय निकुन्जमा बाघ, भालु, गैँडा, हात्ती, बँदेललगायत वन्यजन्तुको सङ्ख्या बढ्दै गएको छ । तर वन्यजन्तुको बढ्दो सङ्ख्याले निकुञ्ज आसपासका बस्तीहरुमा त्रास पनि बढाएको छ ।

निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷७९ मा वन्यजन्तुको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । त्यसरी जङ्गली जनावरको आक्रमणबाट परिवार सदस्य गुमाएकाहरु राज्यबाट उचित क्षतिपूर्ति नपाएको बताएका छन् । सदस्य गुमाएका परिवारलाई राज्यले १० लाख रुपैँया राहात दिने गरेको छ । निकुञ्ज कार्यालयले गत आर्थिक वर्षमा परिवारको सदस्य गुमाएका २२ परिवारलाई २ करोड २० लाख राहत प्रदान गरेको थियो ।

वन्यजन्तुको आक्रमणबाट घाइते भएकाहरूलाई उपचार खर्च सबै राज्यले तिर्दै आएको छ । तर पीडीतहरुले भने परिवारको रेखदेख र लालनपालनको जिम्मासमेत राज्यले लिनुपर्ने बताउँदै आएका छन् । पीडित परिवारको अभिभावकत्व सरकारले लिनुपर्छ भन्ने विषयमा आफूहरूले पनि पहल गरिहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख बाबुराम लामिछानेले बताउनुभयो । वन्यजन्तु र मावनबीच बढ्दै गएको द्वन्द्वका कारण दुबै पक्षतर्फ क्षति पुग्दै आएको छ ।

६. हिमनदी समयअघी नै लोप हुनसक्ने वैज्ञानिकहरूको चेतावनी

एजेन्सी । संसारका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका एक अध्ययनले देखाएको छ । समाचार एजेन्सीका अनुसार जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने अध्ययनकर्ताहरूको दाबी छ ।

सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनमा चेतावनी दिइएको छ । प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् । सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको गत बिहीबार सार्वजनिक ‘साइन्स जर्नल’मा उल्लेख छ । ग्रिनल्याण्ड र अन्टार्कटिका बाहेक भूमिमा आधारित विश्वका दुई लाख १५ हजार हिमनदीमाथि विगतकोभन्दा मिहिन ढङ्गले गरिएको अध्ययनले ती नदी लोपको सँघारमा पुगेका देखाएको हो ।

७. विमानस्थलबाट ४७ करोडभन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण

एजेन्सी । मुम्बई विमानस्थलमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोडभन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण गरिएको छ । ६ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले जानकारी दिएका छन् । हेरोइन कागजातको फोल्डर कभरमा लुकाइएको थियो भने कोकेन कपडाको बटनमा लगाइएको पाइएको छ ।

दुई छुट्टाछुट्टै घटनामा ३१.२९ करोड मूल्यको ४ किलो ४७ ग्राम केजी हेरोइन र १५.९६ करोड मूल्यको १ केजी ५९६ ग्राम कोकिन बरामद गरिएको हो ।

८. आहा ! रारा पोखरा गोल्डकपको फाईनल आज

मकवानपुर । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनलमा सङ्कटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ः३० बजे सुरु हुने आयोजकले जनाएको छ । संकटा एक पटकको च्याम्पियन समेत हो ।

भुटनीज भन्दा दोस्रो पटकको सहभागितामा फाइनल पुगेको हो । सङ्कटा समिफाइनलमा एपीएफ क्लबलाई ४–१ ले हराउँदै फाइनल पुगेको हो भने भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १–० ले हराएको हो । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।
यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*