बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ दलले गरे संसदीय दलको नेता चयन

बकैया दर्पण संवाददाता
२० पुष २०७९, बुधबार ०८:५८

मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ वटा दलमध्ये ६ वटा दलले संसदीय दलको नेता चयन गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एकिकृत समाजवादी पार्टी बाहेक अन्य ६ वटा दलले आफ्नो दलको नेता चयन गरिसकेको छ ।

बागमती प्रदेशको ठुलो दल नेपाली कांग्रेसले निर्वाचन मार्फत संसदीय दलको नेता चयन गरेको छ । कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा चयन भएका छन् । नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित लामाले मकवानपुरबाट निर्वाचित इन्द्रबहादुर बानियाँ ५ मतले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् । लामाले २१ मत प्राप्त गर्दा बानियाँ १६ मत प्राप्त गरेका थिए ।

अन्य दलहरुले भने सर्वसम्वत तरिकाले नेता चयन गरेका छन् । नेकपा एमालेले चितवनबाट निर्वाचित जगन्नाथ थपलियालाई नेता चयन गरेको छ भने नेकपा माओवादी केन्द्रले धादिङबाट निर्वाचित शालिकराम जम्कट्टेललाई संसदीय दलको नेता चयन गरेको छ ।

यस्तै, राप्रपाले काठमाडौंबाट निर्वाचित उद्धब थापा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुरबाट निर्वाचित सुरेन्द्रराज गोसाई र हाम्रो नेपाली पार्टीले काठमाडौंबाट निर्वाचित शैलेन्द्रमान बज्रचार्यलाई दलको नेतामा चयन गरेको छ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*