फोर नेशन्स महिला फुटबलको उपाधि म्यान्मालाई, नेपाल २-० ले पराजित

बकैया दर्पण संवाददाता
१५ फाल्गुन २०८१, बिहीबार ०५:४९

बकैया दर्पण : फोर नेशन्स अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यान्माले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हिजो साँझ भएको फाइनलमा घरेलु टोली नेपाललाई २-० गोलले स्तब्ध पार्दै म्यान्माले उपाधि उचालेको हो।

झण्डै चार दशक लामो महिला अन्तरराष्ट्रिय फुटबल यात्रामा अहिलेसम्म नेपालले उपाधि जित्न सकेको छैन। अहिलेसम्म नेपालले १३ वटा फाइनल खेल्दा सबै फाइनलमा हार बेहोरेको छ।

साफ च्याम्पियनसिप, साग र अन्य ३ प्रतियोगितामा नेपाल फाइनलमा पराजित भएको तितो इतिहास छ।

आज पहिलो हाफमा दुवै टोलीले बराबरी खेले पनि दोस्रो हाफ सुरु भएको केही समयमै म्यान्माले नेपालविरुद्ध लगातार दुई गोल गरेको थियो। म्यान्माका लागि खेलको ६२औँ मिनेटमा यु पर खिनले गोल गर्दै अग्रता दिलाएकी थिइन्।

त्यसको दुई मिनेटपछि खेलको ६४औँ मिनेटमा कप्तान विन थेइङ्गी तुनले अर्को गोल थप्दै म्यान्माको अग्रता दोब्बर बनाइन्।

बक्सको दायाँ भागबाट हानेको प्रहार नेपाली किपर एन्जिलाले रोकेकी थिइन् तर पूर्णरुपमा क्लियर नभएको बल पुनः विनले पाइन्। उनले छातीले हानेको बल गोलमा परिणत भयो।

गीता रानाले बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन्। सन् २०१९ को फेब्रुअरीमा भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपमा नेपाल र म्यान्माले फाइनल खेलेका थिए। उक्त खेलमा पनि नेपाल पराजित भएको थियो।

नेपालले अहिलेसम्मका म्यान्मासँगको ५ भेटमा हराउन सकेको छैन। गत कार्तिकमा घरेलु मैदानमा भएको साफ च्याम्यिनसीपमा नेपाल फाइनलमा बंगालादेशसँग पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*